बुटवल,१ चैत ।
देशकै ठूलो मध्येको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को निर्वाचनमा एमाले–माओवादी गठबन्धन भए पनि गठबन्धन भित्रैबाट अन्तर्घात भएको खुलासा भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सर्वोच्च अदालतले खारेज गरेसँगै देशभर एमाले र माओवादी केन्द्रका अलग अलग रुपमा गतिबिधि भैरहेका बेला बस व्यवसायीको चुनावमा भने कांग्रेस बिरुद्ध एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको हो ।
निर्वाचनमा एमाले माओवादी केन्द्रको बाम गठबन्धनका आठ जनाले जिते पनि बाम गठबन्धनको नेतृत्व गरेका निवर्तमान अध्यक्ष समेत रहेका माओवादी केन्द्र निकट व्यवसायी दधी खरेलले एमाले निकट व्यवसायी र कांग्रेस निकट व्यवसायी भन्दा कम मत आउनुले बामगठबन्धन भित्रैबाट अन्तर्घात भएको प्रष्टै देखिन्छ ।
बाम गठबन्धनका एमाले निकट जिवन बन्जाडेले १५३० मत ल्याउदा बाम गठबन्धनकै माओवादी केन्द्र निकट दधिराम खरेलले १३३८ मत मात्रै प्राप्त गर्नु र कांग्रेस निकट व्यवसायी सुरेन्द्र श्रेष्ठले १४२२ तथा पदम गाहाले १३८९ मत ल्याएर बिजयी हुनुले गठबन्धन भित्रैबाट अन्तर्घात भएको पुष्टि भएको हो ।
गठबन्धनका केही उम्मेदवारले उच्च मत ल्याएर विजयी हुँदा सोही गठबन्धनका केही उम्मेदवारले हार व्यहोर्नु परेपछि गठबन्धनकै नेतत्वबाट षडयन्त्र भएको पराजित उम्मेदवारहरुको भनाई छ ।
चुनाबी गठबन्धन गरे पनि गठबन्धनकालाई जिताउने भन्दा पनि गठबन्धन भित्रकै पदाधिकारीहरुले कसलाई ल्याउने कसलाई नल्याउने भन्ने षडयन्त्र भएकोले गठबन्धनका सबै जनाले जित्न नसकेको उनिहरुको गुनासो छ ।
११ सदस्यीय सञ्चालक समितिको लागि भएको निर्वाचनमा एमाले–माओवादी गठबन्धनका ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जना निर्वाचित भएका छन् ।
अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था छ ।
एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
२ हजार ३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो ।