बुटवल, २८ फागुन ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सकेसम्म यातायातसँग सम्बन्धीत नयाँ संस्था खुल्न नदिने र खुलिहाले पनि हात खुट्टा बाधेर आफ्नो नियन्त्रणमा लिन यातायात व्यवसायी संस्थाहरुलाई सुझाव दिएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रा लि बुटवलको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष कर्मचार्यले संस्थामा मनमुटाव हुनेबित्तिकै अर्को संस्था खडा गर्ने प्रबृत्ति बढेको भन्दै सकेसम्म नयाँ संस्था खोल्नै नदिने र खुलिहाले पनि हात खुट्टा बाधेर आफ्नो नियन्त्रणमा राख्न सुझाव दिएका हुन् ।
सरकारले यातायात व्यवसायी संंघ संस्थाहरुलाई खारेज गरेर त्यसको सम्पत्ति राष्ट्रियकरण गर्ने घोषणा गरे पनि अन्तिममा आएर व्यवसायीक संस्थाहरु प्रा लि मा रुपान्तरण भएको भन्दै उनले व्यवसायीहरुको निरन्तरको लबिङ्गकै कारण प्रा लि मा रुपान्तरण गर्न सफल भएको बताए ।
महासंघको अबको माग भाडा बृद्धि भएको भन्दै उनले सरकार व्यवसायीका समस्याप्रति गम्भीर नभए आन्दोलनमा जाने चेतावनी दिए ।
अबको आन्दोलन लामो समयको हुनसक्ने भन्दै उनले आन्दोलनमै जानु परे सबै व्यवसायी तथा मजदुरहरु एकतावद्ध भएर जानुपर्नेमा जोड दिए ।
यातायात व्यवसायी महासंघका महासचिव पुण्डे प्रसाद सिटौलाले सरकार व्यवसायीका समस्या प्रति गम्भीर नभएको गुनासो गर्दै आफुहरुका माग सम्बोधन नभए आन्दोलनमा जानुको बिकल्प नभएको बताए ।
प्रा लि का अध्यक्ष दधिराम खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालिन पश्चिम नेपाल बस व्यवसायी समितिका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ,प्रा लि का प्रवन्ध सञ्चालक पदम गाहा लगायतले आ आफ्नो भनाई राखेका थिए ।