Share this News on Social Networking Pages

बाँके,२५ फागुन । बाँके जिल्लाको नरैनापुर गाउँपालिका-१ सुइयामा भएको आगलागीमा २२ घर जलेर नष्ट भएका छन् ।

साेमबार गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि आगलागीबाट कराेडाैँकाे क्षति भएकाे स्थानीयले बताएका छन् ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको भनाइ छ । सोमवार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको गैरखाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले बताए ।