बुटवल, २१ फागुन ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानब कल्याण मित्र मञ्च नेपाल द्धारा शुक्रबार रुपन्देहीमा नेपाली नारीका समस्या र समाधानका उपाय’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
तिलोत्तमा नगरपालिका भित्र रहेका समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु बिच भएको प्रतियोगितामा रुपन्देहीको मणिग्राम स्थित शान्ति माविकी सृष्टि खरेल प्रथम, सेमरा माविकी प्रिया विक द्धितीय र भुल्के माविकी दिपिका पल्टी तृतीय भएका छन् ।
कार्यक्रममा नगर उप प्रमुख जगेश्वरी चौधरीले आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दै गएको बताइन् ।
घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको र सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको उनको भनाइ थियो ।
मानब कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षता र तिलोत्तमा नगर उप प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मित्र मन्च भारतका उपाध्यक्ष सरस्वती भण्डारी,महासचिव रघुनाथ पाण्डे हाम्रो स्वाभिमान महिला विभाग अध्यक्ष अनिता ज्ञवाली, संस्थाका संरक्षक पुरुषोत्तम भट्टराई, महिला विभाग अध्यक्ष पार्वती केसी, शान्ति नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई,प्रधानाध्यापक कुल प्रसाद लामिछाने, मञ्चका सचिव कविता पन्थी,सदस्य यादा क्षेत्री लगायतले शुभकामना दिएका थिए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका शान्ति नमुना मावि, गौतम बुद्ध मावि, जनता मावि, सेमरा मावि, जनहित मावि, जनज्योती मावि , शंकरनगर दूर्गादत्त मावि, जनभावना मावि , गिर्वाण सरस्वती सस्कृत विद्यालय र भुलके माविका छात्राहरुको सहभागीता रहेको थियो ।