बुटवल २१ फागुन ।
राप्रपा अध्यक्ष कमल थापाले प्रजातन्त्रको नाउमा मुलुकमा लुटतन्त्र मच्चिएको बताएका छन् ।
मुलुकमा अहिले देशी विदेशी शक्तिहरुको चलखेल बढेको भन्दै थापाले यस्तो अवस्थामा राष्ट्रवादी कित्तामा उभिएर राजनीति गर्नु कठिन र चुनौतिपूर्ण भएको बताए ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले राष्ट्रियताको पक्षमा दलीय स्वार्थभन्दा माथि उठेर स्वतन्त्र रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
नेपालका कतिपय मिडिया हाउसहरु व्यापारी,राजनीतिक दल र विदेशी शक्तिकेन्द्रहरुको स्वार्थमा दुरुपयोग हुनेगरेको भन्दै पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका थापाले यस्तो अवस्थामा स्वतन्त्र पत्रकारीता गर्नु चुनौतीपूर्ण रहेपनि देशी विदेशी शक्तिकेन्द्र,दलीय र व्यापारीक स्वार्थभन्दा माथि उठेर कलम चलाउनु आजको आवस्यकता भएको बताए ।
राज्यको चौथो अंगको रुपमा लिइएको पत्रकारीता जगत प्रजातन्त्रको मेरुदण्ड भएको भन्दै उहाँले पत्रकारीता जगत बलियो भए प्रजातन्त्र बलियो हुने र जनताका अधिकार सूनिस्चित हुने विचार व्यक्त गरे ।
सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक भएको भन्दै थापाले आफुसँग रहेका हतियार बुझाएर हिंसा त्यागेको घोषणा गर्न विप्लव समूहलाई आग्रह गरे ।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता दीपक बोहोरा,राप्रपाकै अर्का नेता धवल समशेर राणा,प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई,दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी,नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसी,नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिन सम्म चल्ने भेलाले शनिबार बुटवल घोषणा पत्र जारी गर्ने अध्यक्ष गोपाल पौडेलले जानकारी दिए ।