बुटवल,२१ फागुन ।
गौतमबुद्धको मावली स्थल रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा आाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए ।
देवदहमा करिव सय विगाहा जमिन प्राप्तीले समग्र क्षेत्रको विकासमा उचाई पुगेको बताउँदै पौडेलले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए ।
सो अवसरमा प्रदेश सांसद कृष्ण न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, कांग्रेसका नेता बासु रिमालले बोल्दै बौद्ध विश्वविद्यालयका पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने बताए ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिए । एग्रो फोरेष्ट्र, इन्भारन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् ।
बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ ।
पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए ।
एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुने । यो संकायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्धेश्य यी पाठ्यक्रमको रहेको बताए । यो प्रयोगात्मक सहितको कक्षा सञ्चालन हुने विषय हुन । देवदहमा तपोवन सहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ ।