काठमाण्डौ,१९ फागुन ।
नेपालमा बुधबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकामध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा सात सय ६६ जना संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको तथ्यांक फेरि सच्याएको छ । शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।
कोरोनाका कारण भएका मृत्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा मृत्यु हुनेको तथ्यांक बढेको पौडेलले बताए । आज दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ परिभाषा अनुसार सरकारले मिल्दाजुल्दा लक्षण भएको र त्यो क्षेत्रमा अरु कसैलाई कोरोना संक्रमण पुष्टि भएको भएमा मृतकको परीक्षण नगरेको भए पनि कोरोनाका कारण ज्यान गएको तथ्यांकमा समेटेको प्रमुख पौडेलले बताए ।