बुटवल,१८ फागुन ।
सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल ल्याइएका लाखौं मूल्यका मूर्ति,कपडा,भाडाबर्तनका सामग्रीहरुसहितको गाडी रुपन्देहीको भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
मंगलबार अपरान्ह सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीले जिल्लाको सिद्धार्थनगर नगरपालिका–३ बालापुरबाट गाडीसहित ती सामग्री बरामद गरेको हो ।
लु १ ज ३५४९ नम्बरको बलेरो पिकअप गाडीबाट २ सय ८८ थान मूर्ति, कपडा र स्टिलका भाडाबर्तन बरामद भएको गणका प्रहरी नायब उपरीक्षक शोभाकान्त खनालले जानकारी दिए । बरामद भएका ती सामानको मूल्य ९ लाखभन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीलाई देख्नासाथ सवारी चालक र स्टाफ गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले एक महिनाको अवधीमा रुपन्देहीबाट भन्सार छलेर नेपाल ल्याइएका करिब ८७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरीको दाबी छ ।