गुल्मी,१७ फागुन ।
गुल्मीमा बोराभित्र एक युवतीको शव फेला परेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान बोराभित्र युवतीको शव फेला परेको हो ।
शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको उनले जानकारी दिए ।
स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्झनाको माइती पक्ष घटनास्थलमा नपुगेकोले शवको पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।