बुटवल,१७ फागुन ।
प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।
यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २७ वर्षीय पारस जैसीले आफ्नो घरमा रहेको विद्युतीय सामग्री तोडफोड गरी आइतबार राति आफ्नै धनसारमा आगजनी गर्दा २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले जैसीलाई नियन्त्रणमा लिएको छ ।