बुटवल,१६ फागुन ।
सुकदेव गुरुङलाई शहिद घोषणा गर्न माग गर्दै शहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी धर्ना दिएका छन् ।
जहानिया राणा शासन अन्त्यका लागि संघर्ष गर्ने योद्धा सुकदेव गुरुङलाई शहिद घोषणा गर्न माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको राज्यले आनकानी गरेको भन्दै शहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालले आइतबार दिउसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी एक घण्टा धर्ना दिएको हो ।
धर्नासँगै कार्यदलले आजै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबीलाल पन्थ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
शहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद प्रतिष्ठानका अध्यक्ष राम प्रसाद बञ्जाडे,जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नबिन सुनुवार,नेपाल आदीबासी जनजाती महासंघ लुम्बिनी प्रदेशका सचिव मनोज राना,गुरुङ समाज रुपन्देही अध्यक्ष बिमला गुरुङ,कार्यदलका सचिव सञ्जय गुरुङ लगायतले बोल्दै शहिदहरुको बलिदानीका कारण सत्तामा पुगेका नेताहरुले शहिदहरुको सम्मान गर्न नसकेको आरोप लगाए ।
शहिदको नाम बेचेर सत्तामा पुग्नेहरुबाटै शहिदहरुको योगदानको कदर नगर्नु दुखद भएको भन्दै उनिहरुले सुकदेव गुरुङलाई शहिद घोषणा नगर्दासम्म आन्दोलन जारी राख्ने बताएका थिए ।