बुटवल,१५ फागुन ।
नेपाल मगर संघका संस्थापक महासचिव तथा संविधानसभा सदस्य सुरेश कुमार आले मगरले उत्पीडित र पिछडिएका समुदायलाई अधिकारबाट बञ्चित गरिए नेपाल रुवाण्डा बन्न सक्ने चेतावनी दिएका छन् ।
३९ औं मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्धारा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै आले मगरले उत्पीडित समुदायमाथिको शोषण कायमै रहे नेपाल रुवाण्डा बन्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन् ।
नेपालमा राजनीतिक परिवर्तन भए पनि शासकहरुको मानसिकतामा परिवर्तन नभएका कारण उत्पीडित जाती समुदाय आफ्नो हक अधिकारबाट बञ्चित हुनुपरेको भन्दै उनले व्यवस्था परिवर्तन भएर पनि अधिकार प्राप्त हुन नसकेको बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि पञ्चायती व्यवस्थामा नामाकरण गरिएको अञ्चलको नामबाट प्रदेशको नामकरण गरिएकोमा आफुहरुको असहमति रहेको भन्दै उनले मगरात प्रदेश स्थापना नभएसम्म आफुहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेगाले मगरहरुको पहिचानको रुपमा रहेको मगरात प्रदेशलाई टुक्राइएकोमा आफुलाई दुख लागेको भन्दै मगरात प्रदेश स्थापनाका लागि मगर समुदाय एकजुट हुनुपर्नेमा जोड दिइन् ।
बिबिसिको साहसिक महिलाको एक सय नम्बरमा पर्न सफल सपना रोका मगरले आफ्नो लागि काम काम गर्ने धेरै भए पनि अरुकोलागि काम गर्नेहरु कम हुने भन्दै अरुका लागि काम गर्न युवाहरुलाई आग्रह गरिन् ।
सडक चौडा हुँदै विकास भएको मान्न नसकिने भन्दै उनले सडकमा सडक बालबालिका रहेसम्म विकास भएको मान्न नसकिने बिचार व्यक्त गरिन् ।
उनले आफु जस्तै अरुकालागि काम गर्ने सयौं सपना रोकाहरु जन्माउने अभियानमा लागेको बताउदै उनले आफ्नो अभियानमा साथ दिन युवाहरुलाई आग्रह गरिन् ।
संघका नगर अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्षता भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,नेपाली कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे,नेकपा बुटवलका अध्यक्ष बाबुराम पन्थी,राजमुपा लुम्बिनी प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ,नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघका महासचिव भिमबहादुर राना,संघका प्रदेश सदस्य गोपालबहादुर चौहान,मगर संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहा, संघका नगर उपाध्यक्ष बसन्ती साठीघरे,सचिव हेमन्त बुढाथोकी लगायतले बोलेका थिए ।
दिवसका अवसरमा आयोजित र्यालीमा नेपाल मगर संघ बुटवल–७ प्रथम,बुटवल–८ द्धितीय,बुटवल–१० तृतीय र बुटवल–४ ले सान्त्वना स्थान हासिल गदैं क्रमशः१० हजार,सात हजार,पांच हजारर तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने कार्यक्रममा पूर्व नगर अध्यक्ष क्या.किशनबहादुर थापा,क्या.जनक थापा तथा गोपाल चौहानलाई सम्मान गरिएको थियो ।
यसअघि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल अगाडिबाट शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी माविको प्राङगणमा पुगेर दिवस मुल कार्यक्रममा परिणत भएको थियो ।