बुटवल,१४ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष पत्रकार स्व. देव बहादुर पाटा मगरको १२ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन वराल मगरले बौद्धिक सत्ताले निर्माण गरेको भाष्यलाई भत्काउनु पर्ने आवश्यक रहेको बताए । बौद्धिक सत्ताले निर्माण गरेको भाष्यका कारण सामाजिक, सास्कृतिक र भाषिक संरक्षण र प्रवद्र्धनमा समस्या परिरहेको उनको तर्क थियो ।

सो अवसरमा मन्त्री बरालले नेपाली भाषाको संरक्षणका लागि यहाँको हरेक समुदायले बोल्ने मातृभाषालाई पनि संरक्षण र प्रवद्र्धनको लागि खाँचो रहेको भन्दै त्यसको लागि प्रदेश सरकारले योजना र कार्य अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष भरत केसीले आदिवासी जनजाति समुदायको भाषाको विकासका लागि राज्यले उचित दायित्व पुरा गर्नुपर्ने बताए । राज्यले हरेक जातिका भाषालाई प्राथमिकताका साथ जीवित तुल्याउनु पर्ने उनको भनाई थियो ।

रचना वाचन कार्यक्रममा साहित्यकार तथा पत्रकार गिरी श्रीसमगर, खेमा लिपी विज्ञ एवं पत्रकार भीम गुरुङ, मञ्जित चौधरी, इन्दु थापा मगर, भेषमाया छन्त्याल, अस्मिता हितान मगर, खेम प्रसाद तमु, सूमन बारघरे लागयतले साहित्यिक रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु, नेपाल मगर महिला संघका केन्द्रिय उपाध्यक्ष ममता बुढाथोकी, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा, नेपाल छन्तयाल संघका प्रदेश संयोजक दल बहादुर छन्त्याल, बर्दघाट नगरपालिका वडा नं २ का अध्यक्ष दया दर्लामीमगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देही अध्यक्ष शंकर गाहा, नेपाल थारु कल्याण कारिणी सभा रुपन्देही अध्यक्ष सतिश चौधरी, नेपाल मगर संघ, रुपन्देही जिल्ला अध्यक्ष आन बहादुर सोती मगर, नेपाल तामाङ घेदुङ जिल्ला समिति रुपन्देही अध्यक्ष कृष्ण मोक्तान, नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष लीलमाया राना, नेपाल छन्त्याल संघ रुपन्देहीका सहसचिव इन्द्र बहादुर छन्त्याल लगायतले बोल्दै हरेक जातीका भाषा संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सदस्य मीन रानाले सञ्चालन गरेका थिए ।

फोनिजका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार देव बहादुर पाटा मगरले बुटवल क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारिताका माध्यमबाट योगदान पू¥याएका थिए ।

वि.स.२०६५ सालमा लखनचोक चौराह बुटवलमा सडक दुर्घटनामा परि उनको निधन भएको थियो ।