दुई खेलको सिरिज बराबरीमा

काठमाडौँ,८ बैशाख ।
कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई खेलको सिरिज बराबरी गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले यूएईलाई आठ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको हो । नेपाल पहिलो खेलमा सोमबार डीएल मेथडमा ६ विकेटले पराजित भएको थियो ।

दुई खेलको सिरिजमा पहिलो खेलमा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टोलीले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको हो । दोस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैतर्फ राम्रो प्रदर्शन गरेको छ ।

यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। ओपनर कुशल भुर्तेल ८४ र कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे ।

कुशलले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनले ३१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्र १७ बलमा ३ चौका सहयोगमा २३ रनमा अविजित रहे । त्यस्तै, १७ बलमा १ चौका र २ छक्का बनाएका कुशल मल्ल १९ रन बनाउँदा मुहम्मद अफरानको बलमा मुहम्मद वसिमको हातबाट क्याच आउट भए। सन्तोष यादव १ रनमा पेभेलियन फर्के ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो ।

अर्षदिप नाथ ५३ र मुहम्मद जुहैब ६ रनमा अविजित रहे । नाथले ४२ बलमा ३ चौका र ६ छक्का सहयोगमा ४२ रनमा अविजित रहे ।

३६ बलमा २ चौका र १ छक्का सहयोगमा ३२ रन बनाएका मुहम्मद अफरान १९औँ ओभरको दोस्रो बलमा सन्दीप लामिछानेको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुन पुगे । सोही ओभरको तेस्रो बलमा खुजैमा तनविर शून्यमा नै ऐरीको हातबाट क्याच आउट भए ।

यूएईविरुद्ध नेपालले सुरुवातदेखि नै दबाब बनाएको थियो। यूएईले पावर प्लेमा नै ३ विकेट गुमाएर ४७ रन बनाएको थियो। सातौँ विकेटका लागि अफरान र अर्षदीप नाथले ६४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

अदिव उस्मानले ३० रन बनाए। उनले २२ बलमा २ चौका र २ छक्का सहयोगमा ३० रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लुको धरापमा परे ।

यूएईका ओपनर तथा कप्तान मुहम्मद वसिम इनिङसको पहिलो बलमा नै गोल्डेन डक आउट भए । दोस्रो ओभरको चौथो बलमा अलिसान सराफु १ रन बनाउँदा नन्दन यादवको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे । हरपित सिंह १ रनमा हेमन्त धामीको बलमा एलबीडब्लु धरापमा परे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। किफायती बलिङ गरेका सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ६ रन दिए। हेमन्त धामीले २ विकेट लिए । नन्दन यादव र साहब आलमले समान एक एक विकेट लिए ।