बुटवल,१४ फागुन ।
नेपाल प्रहरीले प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा थप कडाई गरेको छ ।
अब प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन् । संगठनको हित विपरित सामाजिक सञ्जाल प्रयोग नगर्न प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा सामाग्री शेयर नगर्न कर्मचारीहरुलाई सचेत गराएको छ ।
सर्कुलरमा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युबलगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न निर्देशन दिइएको छ ।
‘प्रहरी संगठनको छवि÷क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट,शेयर, ट्याग, कमेन्ट,लिङ्क शेयरिङ,ट्वीट तथा रि–ट्वीट नगर्नु हुन अनुरोध छ’, सर्कुलरमा भनिएको छ ।
प्रहरी प्रधान कार्यालयले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ ।