बुटवल,१३ फागुन ।
फागुन १६ गते हुने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको निर्वाचनमा नेकपा ओली समूह समर्थक व्यवसायी र नेकपा प्रचण्ड–नेपाल समूह सहित नेपाली कांग्रेस,जसपा लगायतका दलहरुबीच छुट्टा छुट्टै प्यानल खडा भएको छ ।
नेकपा प्रचण्ड–नेपाल,नेपाली कांग्रेस र जनता समाजवादी दल समर्थक व्यवसायीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गरी संघका बरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको नेतृत्वमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार देवी कुमार श्रेष्ठ,पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ,पूर्व अध्यक्ष प्रेमलाल पाण्डे,अर्का पूर्व अध्यक्ष मोदनाथ बेलवासे,प्रेम बञ्जाडे लगायतले बोल्दै सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि बर्तमान अध्यक्ष समुन्द्र जिसी लगायतका केही अहंकारी व्यक्तिका कारण प्यानल बनाएर चुनावमा जानु परेको बताए ।
आफ्नो पक्षका उम्मेदवारलाई जिताउन बर्तमान अध्यक्ष जिसीको समूहले व्यवसायीहरुलाई निमन्त्रणा पठाउदा आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली राखेर पत्र पठाएको बताउदै उनिहरुले उक्त कार्य आचार संहिता बिपरीत भएको दाबी गरे ।
संघमा भएको आर्थिक अनियमीतता बाहिर आउने डरले बर्तमान अध्यक्ष जिसीले आफ्नो मान्छेलाई अध्यक्ष लगायतका पदमा जिताउन अनेक षडयन्त्र गरेको उनिहरुको आरोप छ ।
आफुहरुको प्यानल जिल्लाभरका व्यवसायीहरु समावेश भएको भन्दै उनिहरुले जिसी समर्थकहरुको प्यानलमा अध्यक्ष लगायतका अधिकांस पदाधिकारी तथा सदस्यहरु बुटवलको इटाभट्टीका मात्रै रहेको दाबी गरे ।
श्रेष्ठ नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा लाल बहादुर केसी,प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी,द्धित्तीय उपाध्यक्षमा चिरन्जीवी पोख्रेल (बाबुराम),महासचिवमा प्रेम बञ्जाडे,सचिवमा अर्जुन थापा,कोषाध्यक्षमा चुत्रबहादुर पौडेल (टेकु),सह कोषाध्यक्षमा खेमराज पोख्रेल रहेका छन भने सदस्यहरुमा प्रदिप जिसी,केशब कँडेल,दिनेश भुसाल,रीना काफ्ले,यम गलामी,कृष्ण पाण्डे,दिपक योगी,लक्ष्मण बस्याल,सुन्दर श्रेष्ठ,होम बहादुर केसी र प्रेम भट्टराई रहेका छन् ।