Share this News on Social Networking Pages

बुटवल,१२ फागुन ।
संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले देशभर विजय उत्सव मनाएको छ ।

सर्वोच्चको फैसला आएदेखि नै विजय उत्सव मनाएको प्रचण्ड–माधव समूहले बुधबार राजधानी काठमाडौं सहित देशभर विजय उत्सव मनाएको हो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको कमदविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको सो समूहले आन्दोलन स्थगित गर्दै फैसलाको खुसियालिमा विजय जुलुस निकालेको छ ।

शान्ति बाटिकाबाट सुरु भएको विजय र्याली जमल, दरबारमार्ग, जयनेपाल हल, पुतलिसडक हुँदै राष्ट्रिय सभागृह अगाडि गएर सभामा परिणत भएको थियो ।

त्यस्तैगरी नेपका प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा पनि विजय ¥याली निकालेको छ ।

बुटवलको राजमार्ग चौरहबाट पञ्चेबाजा सहित निस्किएको ¥याली मिलनचोक,बसपार्क,अस्पताललाइन हुदै ट्राफिक चोकमा पुगेर समापन भएको थियो ।

उता वीरगञ्जमा नेकपा प्रचण्ड–माधव प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै विजय ¥याली निकालेका छन् । प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय ¥याली निकालिएको हो ।

केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो ।
संसद पुनर्थापना भएसँगै मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।