Share this News on Social Networking Pages

बुटवल,११ फागुन ।
बुटवल श्रवणपथ स्थित साझा अस्पतालमा मेरुदण्डको जटिल शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

मेरुदण्डको हड्डी भाचिएर नसा च्यापिएको बिरामीको जटिल किसिमको शल्यक्रिया सफल भएको अस्पतालका प्रशासन प्रमुख मेघराज भट्टराइले जानकारी दिए ।

घास काट्ने क्रममा रुखबाट लडेर मेरुदण्डको हड्डी भाचिएर नसा च्यापिएकी प्यूठानको प्यूठान नगरपालिका वडा नं १० पातीहानाकी २७ बर्षीय संगिता सुनारको शल्यक्रिया गरी खुट्टा चल्ने बनाइएको हो ।

अस्पतालका हाडजोर्नी,नसा तथा ट्रमा सर्जन डा.लक्ष्मण शर्मा,न्युरो सर्जन डा. राजिव भण्डारी,डा.विश्वास भण्डारी,प्रबिना गुरुङ लगायतको टोलीले उनको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

हाडजोर्नी,नसा तथा ट्रमा सर्जन र न्युरो सर्जन दुवै डाक्टर भएको अस्पतालमा मात्रै सो सेवा प्रदान गर्न सकिने अस्पतालका हाडजोर्नी,नसा तथा ट्रमा सर्जन डा.लक्ष्मण शर्माले जानकारी दिए ।

सो अस्पतालमा पहिलो पटक गरिएको शल्यक्रिया सफल भएको र हाल बिरामीको अवस्था राम्रो रहेको डा.शर्माले बताए ।

जटिलमध्येमा लिइने भए पनि बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गरी कम शुल्कमा सो शल्यक्रिया तथा उपचार गरिएको अस्पतालले जनाएको छ ।

सोही ठाउंकै एक बिरामीको भारतको लखनउमा शल्यक्रिया गरिए पनि ती बिरामीको खुट्टाले काम नगरेकोले आफ्नो बिरामीको पनि खुट्टाले काम नगर्ने हो की भन्ने चिन्ता लागेको र सोमबार अप्रेसन गरिएका बिरामीको खुट्टाले काम गर्न थालेकोले खुसी लागेको बिरामीकी भाउजु सरीता सुनारले बताइन् ।

यस क्षेत्रमा हुने दुर्घटनाका बिरामीहरुको चापलाई मध्यनजरगरी केही महिना अगाडीदेखि संचालनमा आएको सो अस्पतालमा हाडजोर्नी,नसा तथा ट्रमा सम्बन्धी सेवा,न्युरो सर्जरी लगायतका धेरै किसिमका बिरामीहरुको उपचार हुदै आएको अस्पतालका अध्यक्ष गोविन्द खनालले जानकारी दिए ।