बुटवल,११ फागुन ।
२०७८ सालको जनगणनाका क्रममा मगर संघले आन्तरिक रुपमा मगरहरुको गणना गर्ने तयारी गरेको संघले जनाएको छ ।
मगर दिवसको अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समिति रूपन्देहीद्धारा मंगलबार तिलोत्तमाको भलबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले सो कुरा बताएका हुन् ।
२०६८ को जनगणनामा मगरहरुको बास्तविक तथ्याङ्क नआएको आशंकामा संघले मगरहरुको आन्तिरिक रुपमा गणना गर्ने तयारी गरेको उपाध्यक्ष बिरकट्टा मगरले बताए ।
संविधानमा सबै भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिए पनि राज्यले एक भाषालाईमात्रै सरकारी काम काजको भाषाको मान्यता दिएर अन्य भाषीहरुलाई अन्याय गरेको उनको गुनासो छ ।
मगर संघ स्थापना भएको दिन फागुन १५ गते नेपाल मगर संघ तिलोत्तमा नगर समितिले तिलोत्तमाको भुपु सैनिकमा बिशेष कार्यक्रम गरी मनाउन लागिएको नगर अध्यक्ष लिलमाया राना मगरले जानकारी दिइन् ।
स्थापना दिवसलाई सागठनिक पर्वको रूपमा मनाउने कार्यक्रम अनुरुप फागुन १५ गते बिशेष कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
मगर जातिहरूको चाडपर्व ,इतिहास ,भाषा ,धर्म , संस्कार विशेष चेतना बृद्वि गर्नको लागि दिवस मनाउन लागिएको अध्यक्ष राना मगरले जानकारी दिइन् ।
अध्यक्ष लिलमाया राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब प्रेम बहादुर कनौजे मगरले गरेका थिए ।