गुल्मी,११ फागुन ।
ससुराको हत्या गरेको आरोपमा प्रहरीले गुल्मीको थोर्गामा बुहारीलाई पक्राउ गरेको छ । फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतककी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीलाई पक्राउ गरेको हो ।
ससुराको हत्या गरेको आशंकामा पक्राउ परेकी ज्ञवालीलाई फागुन ९ गते अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए । घरमै मृत फेला परेका मृतकको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
एउटै घरको दुई अलग– अलग कोठामा ससुरा–बुहारी बस्ने गरेको र उनै बुहारीले नै जेठाजुमार्फत् ससुरा मृत फेला परेको वडाध्यक्ष शेषनारायण पौडेललाई जानकारी दिएकी थिइन् ।
आरोपित बुहारीका श्रीमान् भैरहवातिर नोकरी गरेर बस्ने गर्दथे । अहिले बाबूको काजकिरिया गर्न घर आएका छन् ।
मृतककी श्रीमती नभएको र बुहारीका एक छोरा भारतमा रहेकोले ससुरा घरमा एक्लै बस्ने गरेको स्थानीयको भनाई छ ।
उनको घर एकान्तमा भएकोले झै झगडा सुन्ने पनि कोही नपाइएको वडाध्यक्ष पौडेलले बताए ।