Share this News on Social Networking Pages

बुटवल,९ फागुन ।
नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकासको पाठशालाको रुपमा विकास गर्ने बताएका छन् ।

आज बुटवल उपमहानगरपालिका वडा नं १ को देउराली डाँडामा आयोजित सिद्धार्थ केबुलकार प्रा.लि.को शिलान्यास गर्दै पौडेलले रुपन्देही जिल्लालाई विकासको पाठशालाको रुपमा विकास गर्ने योजना अनुसार काम अगाडी बढेको बताएका हुन् ।
२०४७ साल यता रुपन्देहीको विकास तिब्र गतिमा अगाडी बढेको भन्दै अर्थमन्त्री पौडेलले विकासको नमुना हेर्न अन्य जिल्लाबाट रुपन्देही आउने गरी काम अगाडी बढेको दाबी गरे ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल,तिनाउ–दानव करिडोर,अन्तराष्ट्रिय सम्मेलन केन्द्र,बुटवल–बेलहीया व्यापारिक मार्ग सडक विस्तार आयोजना लगायतका काम अगाडी बढेको र लुम्बिनी गुरुयोजना दुई बर्ष भित्र सम्पन्न गर्नेगरी वजेटको व्यवस्था भएको भन्दै पौडेलले ती योजना सम्पन्न भएसँगै रुपन्देही जिल्लाको विकास हेर्न लायक हुने विचार व्यक्त गरे ।

रुपन्देहीको तिनाउ नदिको दुवै तर्फबाट दुई वटा केवलकार निर्माण सम्पन्न भएपछि रुपन्देही सहित यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सिद्धार्थ केबुलकार प्रा.लि.का अध्यक्ष इ.राजेन्द्र सिं गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसा श्रेष्ठ,बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती,बुटवल उपमहानगरपालिका वडा नं १ का अध्यक्ष महेन्द्र लिगल,नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल,डि आर घिमिरे लगायतले केवुलकारको महत्वको बिषयमा आ आफ्नो भनाई राखेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं १ को देउरालीडाँडाबाट पाल्पाको नुवाकोट सम्म जाने केवुलकार ८० करोडको लागत अनुमान गरिएको आयोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने प्रा लि.को योजना रहेको छ ।