जनकपुर,९ फागुन ।
धनुषाबाट अपहरणमा परेका एक बालकको ७ घण्टाभित्रै सकुशल उद्धार भएको छ ।
अपहरणमा संलग्न रहेको अभियोगमा बालकका बालकका बुवा र मामासहित ३ जना पक्राउ परेका छन् ।
शनिबार दिउसो जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए ।
बच्चालाई अपहरण गरिएको भन्दै साँझमा उनको घरमा १ करोड फिरौती माग गरिएको थियो । ‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आयो,’ प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै उद्धार गरिएको छ ।’
बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको हो ।
बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।
प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।