बुटवल,८ फागुन ।
रुपन्देहीको रुद्रपूर साथी सञ्जाल र गजेडी साथी सञ्जालले आर्थिक अभावका कारण पढ्नबाट बञ्चित स साना विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न हाट बजारमा खाजा बिक्री गर्न सुरु गरेका छन् ।
चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी हुने विधार्थी,शिक्षक,अभिभावक तथा दर्शकहरुलाई स्वस्थ तथा ताजा खाजा र नास्ता बिक्री गरेर आर्थिक संकलन गर्ने अभियान अन्तर्गत उनिहरुले खाजा नास्ता पसल संचालन गरेका हुन् ।
सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा किशोर किशोरीहरुलाई उनिहरुको हक अधिकारमा शसक्तिकरण गराउन किशोर किशोरीहरुलाई सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको साथी सञ्जालले बिपन्न परिवारका विद्यार्थीहरुलाई पढाउन खाजा पसल संचालन गरेको रुद्रपुर साथी सञ्जालका अध्यक्ष बिष्णु नेपालीले बताइन ।
कञ्चनमा साप्ताहिक रुपमा लाग्दै आइरहेको पिपरीचापाको हाट बजारमा खाजा नास्ता पसल संचालन गरी शुरु गरेको आर्थिक संकलन कार्य चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा समेत खाजा नास्ता बिक्री गरेको साथी सञ्जालका नेपालीले जानकारी दिइन् ।
कञ्चनमा धेरै वालबालिकाहरु आर्थिक अभावका कारण पढ्न नपाएर बिचमै पढाई छाड्नु परेको र तीनै वालबालिकाहरु नै लागु औषध दुरुपयोगमा लागि कुलतमा फस्ने गरेको घटनालाई मध्येनजर गरी त्यसको न्युनिकरण गर्न आर्थिक संकलन अभियान सुरु गरिएको उनिहरुले बताए ।
वालबालिकाहरुलाई पुन विद्यालयमा भर्ना गरी उनिहरुको पढाइलाई निरन्तरता दिन साथीले साथीकै लागि साथीको पढाई खर्च जुटाउने उद्धेश्यका साथ खाजा नास्ता पसल संचालन गरेको साथी सञ्जालकी सुस्मिता नेपालीको भनाई छ ।