Share this News on Social Networking Pages

बुटवल ७ फागुन
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति,रुपन्देहीले आज भैरहवामा जनमुक्ति जागरण तथा खवरदारी सभा सम्पन्न गरेको छ ।

प्रधानमन्त्री केपी ओलीद्धारा पुस ५ गते गरेको संसद विघटनको विरोध तथा प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीले कार्यक्रम गरेको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टाले प्रतिगमन र ओलीतन्त्रको अन्त्यका लागि आन्दोलनको खांचो औल्याए । मुलुकको जड भ्रष्ट्राचार भएको भन्दैं उनले भ्रष्ट्राचार अन्त्यका लागि भ्रष्ट्राचारीलाई कम्तीमा एक सय ४० वर्ष जेल सजाय तोकिनुपर्ने बताए ।

पार्टीका संघीय परिषद् सदस्य गीता सारुले संसद विघटनपछि नेकपाभित्र सांसद किनवेच भैरहेको आरोप लगाइन् ।

पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङले प्रधानमन्त्री ओली र प्रचण्डले तीन करोड नेपालीलाई दास बनाएको आरोप लगाउंदैं कांग्रेस–कम्युनिष्टले देश दुर्घटनातिर लगेको दावी गरे ।

पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापामगरको अध्यक्षता,सहसचिव यानु पुनको सञ्चालनमा भएको कार्यक्रममा राष्ट्रिय थारु मञ्चका संयोजक रेखाप्रसाद चौधरी, पार्टीका सिद्धार्थनगर अध्यक्ष प्रेम गुरुङ लगायतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानीक भएको भन्दै त्यसको सबैले एक ठाउमा उभिएर बिरोध गर्नुपर्नेमा जोड दिएका थिए ।

यसअघि भैरहवाको शुकदेवचोकबाट शुरु भएको र्यालीले भैरहवा बजार परिक्रमा गरि मिलनचोकमा पुगेर सभामा परिणत भएको थियो ।