सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको भनाई
काठमाडौं,६ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहिबार शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

सामाजिक जीवनपद्धति र सबैको सन्तुलित खुसीमा नै प्रजातन्त्रको प्राण अटूट रहने भन्दै शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।