काठमाडौं, ६ फागुन ।
संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत सो समूहले बिहीबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको सो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको थियो । त्यसपछि सो समूहले फागुन १५ सम्मको चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए।
मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरूले पार्टीको झण्डा र सूर्य चिह्न पनि बोकेका थिए ।
संसद् विघटन असंवैधानिक भएको भन्दै सो समूह सहित नेपाली कांग्रेस लगायतका दलहरुले राजधानी उपत्यका सहित देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्दै आएका छन् ।