बुटवल,६ फागुन ।
गुल्मीको रेसुंगा नगरपालिकामा बुधबार साँझ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मीको पराल्मी गाउँकी २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेल रहेका छन् ।

दुर्घटनामा परी पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

घाइते ६ जनामध्ये ४ जनाको गुल्मी अस्पतालमा र २ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जिपमा २ जना हाम्फालेर जोगिएका थिए ।

गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिकाको वडा नं. १४ पराल्मी रातामाटा जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप पराल्मी गाउ नजिकै दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।