Share this News on Social Networking Pages

बुटवल,५ फागुन ।
लुम्बिनी प्रदेश सभाको भौतिक पूर्वाधार विकास समितिले चालु आर्थिक वर्षमा सञ्चालित विकास आयोजनाहरुको प्रगति प्रतिवेदन उपलब्ध गराउन भौतिक पूर्वाधार विकास मन्त्रालयसँग पुन माग गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले समितिलाई उपलब्ध गराएको प्रगति प्रतिवेदनमा आयोजनाको बारेमा उल्लेख नगरिएको भन्दै आयोजना सञ्चालन भएको बिस्तृत विवरण सहितको प्रतिवेदन उपलब्ध गराउन पुन माग गरेको हो ।

आज बसेको भौतिक पूर्वाधार विकास समितिको बैठकले योजनाको ठेगाना खुल्नेगरी विस्तृत विवरण खुलाई मन्त्रालयसँग पुन प्रगति प्रतिवेदन माग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले उपलब्ध गराएको विवरणबाट कुन जिल्लामा सञ्चालित योजनाको अवस्था कस्तो छ भन्ने नखुलेकोले मन्त्रालयसँग योजनाको विस्तृत विवरण सहितको प्रगति प्रतिवेदन माग गर्ने निर्णय भएको समिति सभापति आशा स्वर्णकारले जानकारी दिइन् ।

सभापति स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्यहरु इन्द्र प्रसाद खरेल,सहसराम यादव,धर्मबहादुरलाल श्रीवास्तव,पुष्पा थरुनी,तारा जिसी,लौटी थारुले मन्त्रालयले पठाएको विवरण बारे आ आफ्नो भनाई राखेका थिए ।

यसअघि २०७७÷८÷२५ गते बसेको समितिको बैठकले मन्त्रालयसँग चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन माग गर्ने निर्णय गरेको समितिकी सचिव सम्झना सुवेदीले बताइन् ।