गुणस्तरियताको मापन अंकमा नभई असल र सभ्य गुणको आधारमा हुनुपर्नेमा जोड
बुटवल,४ फागुन ।
रुपन्देहीको हरैया माध्यमिक बिधालयको ५४ औं बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अंकको आधारमा नभई असल र सभ्य नागरिकमा हुनु पर्ने गुण र दोषको आधारमा शैक्षिक गुणस्तरको मापन हुनु पर्नेमा जोड दिए ।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य तथा रुपन्देही क्षेत्र नं.५ (क) का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले शिक्षा बिना कुनै पनि समाज परिबर्तन नहुने भन्दै समाजको आवस्यकता अनुसार आफुलाई परिबर्तन उन्मुख बन्न शिक्षा अती महत्वपुर्ण रहेको बताए ।
अवको शैक्षिक गुणस्तरीयता अंकमा नभई असल नागरिकमा हुनुपर्ने गुण र दोषको आधारमा मुल्यांकन हुनु पर्ने ढकालले बताए ।
सभासद ढकालले भने शिक्षा कुनै देबी देवतालाई भाकेर वा पुजा गरेर होइन कडा मेहनत र बिषयबस्तुलाई अर्जुनदृष्टि लगाउन सकेमात्र समाज र देशका लागि योग्य ब्यक्ति उत्पादन हुन सक्ने विचार व्यक्त गरे ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको गुणस्तरीय शिक्षाको बिकासका लागि विद्यार्थी,अभिभावक र शिक्षक बिचको सम्बन्धलाई बलियो बनाउनु पर्ने बताए ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले विद्यार्थीको शैक्षिक सफलता अंकमा नभएर उसको सुसंस्कृत बानी व्यवहार र असल नागरिकमा हुनुपर्ने गुणहरुको आधारमा भन्ने बारे छलफलको आवस्यकता औल्याए ।
कार्यक्रममा मुन्सी प्रसाद भर,दिनानाथ आचार्य,हरिकला थापा,पुष्पराज शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालयको शैक्षिक,आर्थिक,भौतिक,नैतिक रुपमा सहयोग र सल्लाह दिदै आएका अभिभाकहरु दुर्गा प्रसाद ढकाल,लक्ष्मी नेपाली,शोभा न्यौपाने,बाबुराम पौडेल लगायतलाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा जेहेन्दार,बिपन्न तथा दलित छात्र–छात्राहरुलाई हरिकला थापा,तिलकचन थापा,ठाकुमार जैसी,लाल बहादुर हमाल,प्रदीप कुमार चौधरी र मन बहादुर रोकाद्वारा संयुक्त रुपमा स्थापना गरिएको अक्षयकोषबाट छात्रबृत्ति समेत प्रदान गरिएको थियो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षता तथा शिक्षक लिलाधार पौडेलको स्वागत र शिक्षक तुल बहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले बिधालयको बार्षिक तथा शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कक्षा ९ देखि प्राबिधिक तर्फ कम्प्युटर ईन्जिनियरिङ्ग बिषय समेत अध्यापन हुदै आएको विद्यालयमा १ हजार ८८ जना बिधार्थीहरु अध्ययनरत रहेका छन् ।