काठमाण्डौ,४ फागुन ।
भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलवार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बस वाणसागर नदीमा खसेको हो ।

बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई बचाउन सकिएको स्थानीय प्रशासनले जनाएको छ ।

बेपत्ता यात्रुहरूको गोताखोर मार्फत खोजी भैरहेको जनाइएको छ ।