काठमाण्डौ,३० माघ ।
सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्रै छानिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् ।
अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।
सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।