काठमाण्डौ,३० माघ ।
आज माघशुक्ल प्रतिपदा, तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।
यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । कोरोना महामारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने छ ।
अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारेकी छन् ।
त्यस्तै, पर्वको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सोनाम ल्होसार र ग्याल्बो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै कोभिड–१९ को संक्रमणप्रति ध्यान दिदै पर्व मनाउन आग्रह गरेका छन् ।