बुटवल २८ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा कार्यालयको शुभारम्भ गरिएको छ ।
यससंगै रुपन्देहीमा राष्ट्रिय सहकारी बैंकको तेस्रो शाखा र मुलुककै ६७ औ शाखाको रुपमा तिलोत्तमाको शाखा रहेको छ ।
बैंकको शाखा कार्यालयको बुधवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र सहकारी विभागका रजिष्ट्रार डा.टोक राज पाण्डेले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख घिमिरेले नगरपालिका क्षेत्रमा ५५ वटा बैंक तथा वित्तिय संस्थाको कार्यालय रहेकाले पनि तिलोत्तमा नगरपालिका लगानीका हिसावले सुरक्षित रहेको दाबी गरे ।
नगर क्षेत्रमा ११७ वटा विभिन्न विषयगत सहकारी रहेको बताउदै मेयर घिमिरेले सहकारी बैंक र सहकारी संस्थाले लिने व्याजदरलाई घटाउन आग्रह गरे ।
सहकारी विभागका रजिष्ट्रार डा.पाण्डेले सहकारी संस्थाहरुले शेयर सदस्यको आर्थिक उपार्जनमा टेवा पुराउनुपर्नेे भन्दै शेयर सदस्यको घर सम्पती लिलाम गर्ने सहकारीहरुका क्रियाकलाप आपराधीक भएको टिप्पणी गरे ।
सहकारीमा रहेको बदमासीको अन्त्यका लागि समान प्रकृतीका सहकारीमा रहेको दोहोरो सदस्यता छिट्टै अन्त्य गर्ने दावि गरे ।
रजिष्ट्रार पाण्डेले मुलुकभर ७३ लाख मानिस सहकारीमा आवद्ध रहेको, २९ हजार ८८६ सहकारी संचालनमा रहेको, ८८ हजारले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क प्रस्तुत गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बुद्धि गुरागाई, डेपुटी जनरल म्यानेजर किशोर प्रसाद विमालीले सहकारीको मुल मर्मलाई विद्यालय स्तरबाटै चेतना जागृत गराउन विद्यालयमा सहकारी युवा ब्लव गठन गर्ने गरि योजना अगाडी बढाईएको जानकारी गराए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, बैंक संचालक माधवलाल देवकोटा लगायतले सहकारी संस्थाहरुले अब कमर्सियल बैंकसंग प्रतिपर्धा गर्नसक्ने गरि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।
बुधवार शुभारम्भ कै दिन तिलोत्तमाको ६७ औं शाखामा यस क्षेत्रका सहकारीले ४५ करोड बढी रकम जम्मा गरेको संचालक देवकोटाले जानकारी दिए ।