बुटवल,२७ माघ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागको आयोजनामा बुटवलमा दुई दिने ’सामुहिक चित्रकला प्रदर्शनी –२०७७’ मंगलबार बुटवलमा सम्पन्न भएको छ ।
प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्का चित्रकलाका प्रशिद्ध दिवङ्गत तथा वर्तमान चर्चित कलाकारहरूका कलाहरू राखिएका थिए ।
कार्यक्रममा नेपाल ललितकला विभाग, परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धि बहादुर गुरूङले परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको बताए ।
पौभा चित्र प्रदर्शनी गर्न चित्रकला बिग्रिने जोखिम रहेको हुदा सोही चित्र छापेर प्रदर्शनी गर्न सहज भएको बताउदै प्राज्ञ गुरूङले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रशिद्ध भए पनि नेपालीबीच चिनाउनु आवश्यक रहेकोमा जोड दिए ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केलीले स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथामिकता दिनुपर्ने चर्चा गर्दै भक्तपुर नपाले कला र संस्कृतिको लागि बजेट छुट्याएर अनुकरणीय कार्य गरेको बताए ।
अध्यक्ष थुम्केलीले ’परम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्था’ र ’नेपालमा कला शिक्षा’ विषयक दुई कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, पत्रकार सुन्दर वासी, बुनपा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको विकासबारे आ आफ्नो भनाई राखेका थिए ।