काठमाडौं,२७ माघ ।
सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै बिहीबारदेखि नेपालमा ढुवानी हुने भएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि नेपालमा ढुवानी हुने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

आगामी बिहीबारबाट बंगालदेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए ।

पहिलो चरणमा नेपाल भित्रिने २० हजार मेट्रिकटन प्याकिङ गरिएको यूरिया मल ल्याउन अहिले भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको पोख्रेलले जानकारी दिए ।

‘अन्तिम चरणको कागजपत्र मिलाउने काम चलिरहेको छ, बिहीबारबाट मल हिँड्न थाल्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।

पहिलो चरणमा बंगालदेशी कम्पनीले दिएको प्याकिङ मल ल्याउने र त्यसपछि बाँकी ३० हजार मेट्रिकटन ब्लक मल प्याकिङ सुरु गर्ने पोख्रेलले बताए ।

गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो ।

नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।

बिहीबार देखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वररखुल्ना, रोहनपुररसिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर,वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।