शनिबार ९९ जनामा संक्रमण पुष्टि,२४८ जना डिस्चार्ज
बुटवल,२४ माघ ।
नेपालमा महिनौपछि कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एकभन्दा तल झरेको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएको महिनौपछि नेपालमा एकै दिन कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सयभन्दा तल झरेको हो ।
पछिल्लो २४ घण्टामा दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार आठ सय ६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएसँगै सक्रिय संक्रमितको संख्या पनि दुई हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ५९ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना कोरोना संक्रमित निको भइसकेका छन् । यो कुल संक्रमितको ९८.५ प्रतिशत भन्दा धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको जनताएको छ ।
यद्यपी शनिबार अपरान्ह बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको लुम्बिनीपाटी अनलाइनलाई जानकारी प्राप्त भएको छ ।
मृत्यु हुनेमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ बर्षीया महिला रहेकी छन् ।
उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार अपरान्ह ४ बजेर १८ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।