काठमाण्डौ,२३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गरेका छन् ।
शुक्रबार काठमाण्डौको दरबारमार्गमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामा भएको जनताको उपस्थितले आफुले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको फैसला गरेको दाबी गरेका हुन् ।
काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै ओलीले यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गरे ।
अझै पनि कतिपयमा मानिसमा कुन समूह सक्कली हो भन्ने अलमल रहेको भन्दै ओलीले भन्नुभयो, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।’
‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले भने ।
ओलीले शुक्रवार (आज) काठमाण्डौमा भएको सभा इतिहासकै ठूलो सभा भएको दाबी गरे ।
सभामा आउन नदिन अनेक प्रयास गर्दा पनि मानिसहरू आएको ओलीको भनाइ थियो ।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताए ।
सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको बताउदै उनले अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको उल्लेख गरे ।
त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्नेलाई जाउलाखलेका चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिए ।
थापाले भने, ‘मांसाहारी आन्दोलन गर्ने फुटवादी गुटवादी तत्वलाई चेतावनी दिन चाहन्छु । तपाईंहरु दुस्साहस र अपराध गर्दे हुनुहुन्छ । त्यसमा सचेत हुन आग्रह गर्दछु ।’
त्यस्तै सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताए ।
देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलको भनाई थियो ।
सभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट ¥याली निकालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ ।