Share this News on Social Networking Pages

काठमाण्डौ,२३ माघ ।
‘बृहत् नागरिक आन्दोलन’ ले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार लैनचौरबाट शीतलनिवाससम्म मार्चपास गरेको छ ।

सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको ‘बृहत् नागरिक आन्दोलन’ ले प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा मार्चपास गरेको हो ।

लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भएको थियो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो । कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीविहरुको सहभागीता रहेको थियो ।

मार्चपासमा सहभागीहरुले ’राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।