Share this News on Social Networking Pages

काठमाडौं,२२ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्धामा बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

अदालतबाट बन्दीप्रत्यक्षीकरण आदेश जारी भएर रिहा भएलगत्तै बाँस्तोलालाई फेरि प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

जारी बन्दी प्रत्यक्षीकरण आदेशमा बास्तोलामाथि लगाइएको आरोपमा वस्तुनिष्ठ आधार प्रमाण नभएको, पक्राउको पृष्ठभूमि हेर्दा फरक विचार र आस्था राखकै कारणबाट पक्राउ गरिएको ठहर गरिएको छ ।

नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको जनाइएको छ ।
बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले विष्फोटक पदार्थ (बम) विष्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।