बुटवल,२२ माघ ।
नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा प्रहरीले देशभरबाट १५७ जनालाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा हड्तालको क्रममा काठमाण्डौ उपत्यका सहित देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।
जसमा ८० जना उपत्यकाबाट पक्राउ परेका हुन् । देशभर ११ वटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा ४ वटा तोडफोडका घटना भएका छन् ।
प्रदर्शनका क्रममा जनकपुरमा प्रहरीको लाठी प्रहारबाट नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झा सहित ११ जना घाइते भएका छन् ।
प्रहरीले जनकपूरमा अश्रुग्यास र हवाइफायर समेत गरेको थियो ।
सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
सरकारले संसदीय सुनुवाई विना नै बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराएको थियो ।
प्रहरीले काठमाण्डौको कोटेश्वरबाट सडकमा हिडिरहेका ५ जना पैदलयात्रुलाई समेत पक्राउ गरेको जनाइएको छ ।
हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भइरहेका छन् ।
राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका छन् ।
आमहड्ताल सफल बनाउन नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उपत्यकाका विभिन्न स्थानमा पुगेका थिए ।