काठमाडौँ,१९ माघ ।
म्यानमारको सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको विरोधमा बृहत नागरिक समूहले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको घटनाको विरोधमा बृहत नागरिक समूहले प्रदर्शन गरेको हो ।
घटनाको निन्दा गर्दै नागरिक समूहका अगुवाहरुले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताए । उनीहरुले ’म्यानमारमा नागरिक सर्वोच्चता कायम गर’, ’हामी म्यानमारी जनाताका साथमा छौं’, ’नागरिक अधिकार कायम गर’, ’म्यानमारमा सैनिक कु बन्द गर’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए ।
गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी एनएलडीले स्पष्ट बहमुत प्राप्त गरेको भए पनि चुनावमा धााधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।