काठमाडौं,१८ माघ ।
विदेशमा थप तीन जना नेपालीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघले यो साता बेलायतमा तीन जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।
यससँगै विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३० पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ५५ हजार ७९३ जना कोरोना संक्रमित निको भएका छन् ।
विदेशमा कूल संक्रमित नेपालीमध्ये ९४ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म दुई हजार २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई लाख ७० हजार ८५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका समेत जारी गरेको छ ।