बुटवल १८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिएका छन् ।
आईतवार रुपन्देहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषदको चौथो बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले परिषद सदस्यको भूमिका परिवर्तन भएको छ भन्दै अब परिषद सदस्यले पुरै प्रदेशको विकासका सवालमा चिन्तन गर्नु पर्ने बताए ।
यस अघि स्थानीय तहका जनप्रतिनिधीले आफनो पालिकाको मात्रै चिन्तन गर्नु पर्नेमा अब पुरै प्रदेशको चिन्तनगर्नु पर्ने गरि मन्त्री परिषद कार्यबिधी पारित गरेकोले स्थानीय तहले पनि प्रदेशको चिन्तन गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
मुलुकका सात प्रदेशमध्ये लुम्बिनी प्रदेश साझेदारी कार्यक्रममा नमूना प्रदेश भएको दावि गदै मुख्यमन्त्री पोखरेलले सशर्त,विशेष अनुदान र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशको राजधानी तोक्ने सवालमा प्रदेश सभाले गरेको निर्णय सहि भएको भन्दै उनले राजधानीलाई गौरव गर्न लायक बनाउने तर्फ पूर्वाधार विकास कार्यालयलाई सचेत गराए ।
नदी सभ्यतालाई आधार बनाएर राजधानी तय गरिएकाले पनि प्रदेशको राजधानी मुलुककै उत्कृष्ट र नमूना हुने दाबी गरे । जिल्ला समन्वय समितिको अन्यौलताको अन्त्य भएकाले अब समितिले जिल्ला जिल्लामा अनुगमनको काम प्रभावकारी रुपमा गर्नु पर्नेमा उनले जोड दिए ।
मन्त्रालयका सचिव डा. खगेन्द्र प्रसाद सुवेदीले स्थानीय तह र प्रदेशको विकासका सवालमा महत्वपूर्ण मानिने परिषद बैठकले आवधीक योजना छनोटमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सचिव सुवेदीले सहलगानी सम्बन्धमा छलफलगरि प्रदेशमा रोजगारी अभिवृद्धि र राजस्व अशुलिलाई थप प्रभावकारी वनाउन जरुरी रहेको बताए ।