रोल्पा,१८ माघ ।
एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको अनुसरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि रोल्पामा एक पुलको पुन ः शिलन्यास गरेका छन् ।
चार महिनाअघि निर्माण सुरु भएर एक चौथाई काम सम्पन्न भइसकेको रोल्पाको धाङ्सी खोला पुलको शनिबार मुख्यमन्त्री पोखरेलले पुन शिलन्यास गरेका हुन् ।
सस्तो लोकपृयताका लागि मुख्यमन्त्री पोखरेलले चार महिनाअघि ठेक्का सम्झौता भई एक चौथाइ निर्माण कार्य सकिएको पुलको पुन ः शिलन्यास गरेको स्थानीयहरुले टिप्पणी गरेका छन् ।
पुलको निर्माण कार्य धमाधम भइरहेकाले अनुगमन गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले सस्तो लोकप्रियताका लागि पुलको शिलान्यास गरेको अधिकांसको आरोप छ । पत्नी सुजिता शाक्यसहित पुल निर्माणस्थल पुगेका मुख्यमन्त्री पोखरेलले विगतको राजनीतिक गतिविधिमा बहुसंख्यक जनता सहभागी भएको उल्लेख गर्दै अब विकासको गतिमा पनि सहभागी हुन आह्वान गरे ।
पुल निर्माणको २५ प्रतिशत भौतिक प्रगति र कुल रकममध्ये १४ प्रतिशत बजेट भुक्तानी गरिसकिएको जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयका प्राविधिक धनबहादुर घलेले जानकारी दिए । करिब ६० मिटर लामो पुल ०७९ भदौ २४ सम्ममा निर्माण सम्पन्न हुनेछ ।
सदरमुकाम लिबाङसँग धाङ्सी, धबाङ, होमा, मिरुल, कुरेली गाउँलाई सडक मार्गले जोड्न प्रदेश सरकारले उक्त पुल निर्माण गर्न थालेको हो । सम्झौता अवधिदेखि दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने सर्तसहित उक्त पुल निर्माण जिम्मेवारी एसियाटिकरराज जेभीले लिएको हो । प्रि स्टेज प्रकारको सडक पुलको कुल लागत ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ छ ।