बुटवल,१७ माघ ।
रुपन्देहीको तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता हुने भएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१० नकआउट क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा आगामी फागुन ८ गतेदेखि रुपन्देहीको तिलोत्तमामा स्थित नव जीवन खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएका छन् ।
सर्बोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५र५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्म गर्न पाउने छन् भने दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट स्वर्गीय ढुङ्गानाको नाममा अक्षयकोष स्थापना गरि तिलोत्तमा भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।
पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याइने समितले जनाएको छ ।
कार्यक्रममा मुख्य प्रायोजक सर्वोत्तम सिमेन्टका रिजनल मार्केटिङ म्यानेजर रमेश ढकालले खेल क्षेत्रको विकासका लागि उद्योगले निरन्तर सहयोग गरीरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापा, तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर राना,समितिका प्रेस सल्लाहकार बाबुराम गैरे लगायतले कार्यक्रम सफलताको कामना गरेका थिए ।
प्रतियोगिताको टेलिभिजन पार्टनरमा राज्य टेलिभिजन रहेको छ ।