बुटवल,१६ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ ।
सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फकरुद्यिन खाँ ले राज्य र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडी बढ्ने वातावरण नबनेसम्म मुलुकको समृद्धि असम्भव रहेको बताए ।
उद्योगि व्यवसायीले राज्यलाई सत्रु ठान्ने र राज्यले व्यवसायीलाई चोर देख्ने प्रबत्ति रहेको भन्दै प्रमुख सचेतक खाँ ले त्यस्तो प्रबृत्तिको अन्त्य गरेर हातेमालो गरेर अगाडी बढ्ने वातावरण नबन्दासम्म मुलुकको समृद्धि असम्भव रहेको बिचार व्यक्त गरे ।
समृद्धिको सूचक विकास निर्माण भएको भन्दै उनले विकास निर्माणमा नभैनहुने ढुंगा,गिट्टी र बालुवाको उत्खनन् र बिक्रि बितरणमा अघोषित रुपमा प्रतिबन्ध लगाउने कार्यले मुलुकको समृद्धि नहुने धारणा राखे ।
कार्यक्रममा पुर्व मन्त्री सम्भुलाल श्रेष्ठले राज्यले चाहेर पनि क्रसर उद्योग बन्द गराउन नसक्ने भन्दै जनतासँग प्रत्यक्ष जोडिएको क्रसर उद्योग बन्द गरिए जनताहरु आफै सडकमा उत्रने बताए ।
क्रसर उद्योग बन्द गर्ने नभएर व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो ।
महाधिवेशनमा सहभागीहरुलाई स्वागत गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपानेले क्रसर क्षेत्रमा व्यवसायीहरुको लगानी असुरक्षीत रहेको गुनासो गर्दै क्रसर उद्योगहरुको नविकरण प्रक्रिया अगाडी बढाउन सरकारसँग माग गरे ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले मापदण्डका नाममा क्रसर उद्योगीहरुलाई अन्याय गरेको गुनासो गरे । मापदण्डका नाममा करोडौ लगानी गरेका क्रसर उद्योगहरुलाई अवैध ठहर गर्ने सरकारको नीतिले उद्योगिहरुको अरबौंको लगानी जोखिममा परेको उनले बताए ।
समस्या समाधानका लागि सबै उद्योगी व्यवसाय एक हुनुपर्नेमा उनको जोड थियो ।
महासंघका अध्यक्ष उमेश सेरचनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज बिक,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रीकृष्ण वैद्य,उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा,निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझी,महासंघका सल्लाहकार दीपक भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
५५ जिल्लाका १५२ जना प्रतिनिधि सहभागि अधिवेशनले आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने महासंघले जनाएको छ ।