पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा एक दिनका लागि बन्द
नेपालगञ्ज,१६ माघ ।
बाँकेस्थित बैजनाथ गाउँपालिकामा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) ४२ वर्षीया रमा भारती रहेकी छन् ।
उनको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो ।
भारती जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण देखिएको छैन । मृतक भारतीमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बाँकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भारतीको एक÷एक जना छोराछोरी रहेका छन् ।
यसैबीच, भारतीको निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तरगतको वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ । अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै एकदिनका लागि सेवा बन्द गरिएको जनाएका छन् ।
गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पनि विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।