काठमाडौँ,१३ माघ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलनरत नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको हो ।
केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो सिटी जुलुस आयोजना गरेको हो । नेकपा (दाहाल–नेपाल) पक्षका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ ।
दाहाल–नेपाल समूहले संसद् पुनस्र्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । सो पक्षले माघ ९ गते काठमाडौंमा बृहत् आमसभा गरेको थियो । यद्यपि संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा परेका रिटहरुको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।