Share this News on Social Networking Pages

बुटवल,१२ माघ ।
प्रतिनिधिसभा विघटन विरुद्ध बृहत नागरिक आन्दोलनद्धारा आयोजित बिरोध प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानिको फोहोरा प्रहारबाट ५ जना पत्रकार घाइते भएका छन् ।

फोटो पत्रकार क्लब, नेपालका प्रवक्ता दिपेश श्रेष्ठले सोमबार राती एक प्रेस विज्ञप्ति जारी गरी नागरिक आन्दोलनको प्रदर्शनमा हस्तक्षेप गर्ने क्रममा प्रहरीको लाठी, पानीको फोहरा र ढुङ्गा प्रहारबाट फोटोपत्रकार सहित संचारकर्मीहरु घाइते भएको जनाएका हुन् ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहरासहित अन्धाधुन्द लाठीचार्ज गर्दा आन्दोलनको तस्बिर संकलन तथा सम्पे्रषण गरिरहेका फोटोपत्रकारहरुलाई समेत लक्षित गरी पानीको फोहरा र लाठीप्रहारबाट ५ जना फोटोपत्रकारहरु घाइते हुनुका साथै क्यामरामा समेत क्षति पुगेको भन्दै क्लबले संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी माथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई आग्रह गरेको छ ।

शान्तिपूर्ण मार्चमा हस्तक्षेप गर्ने क्रममा प्रहरीको लाठी, पानीको फोहरा र ढुङ्गा प्रहारबाट फोटोपत्रकार सहित संचारकर्मीहरु घाइते भएको प्रति फोटोपत्रकार क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तिमा सो घटनामा फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ (ईपिए), नरेश श्रेष्ठ (द हिमालयन टाइम्स), केशव थापा (कान्तिपुर), अंगद ढकाल (कान्तिपुर), प्रविण कोइराला (नेपालखबर) घाइते भएको जनाइएको छ् । फोटो पत्रकार थापा, ढकाल र कोइराला घाइते हुनुका साथै उनीहरुको क्यामरामासमेत क्षति पुगेको क्लबले जनाएको छ ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै क्लबले चौथो अंगको रुपमा मानिएको संचार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र संचारकर्मी माथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारसँग माग गरेछ ।