बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको नागरिक अगुवाको उद्घोष
काठमाडौं,१२ माघ ।
बृहत नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेर
हस्तक्षेप गरेको छ ।
कमलपोखरीको माटो निधारमा लगाएर बालुवाटार पुगेका बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र लाठिचार्ज गर्दै हस्तक्षेप गरेको हो ।
आन्दोलनकारी भाटभटेनी चोकबाट अघि बढेलगत्तै प्रहरीले हस्तक्षेप सुरु गरेको थियो । प्रहरी हस्तक्षेपका क्रममा पत्रकार नारायण वाग्लेसहितका आन्दोलनकारी नागरिक अगुवा घाइते भएका छन् ।
घाइते पत्रकार वाग्लेले बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको बताए । सरकारले नागरिकको आवाज दबाउन बर्बर दमन गरेको आरोप लगाउँदै वाग्लेले अब तेस्रो जनआन्दोलनले सरकारलाई बढार्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमबारको प्रदर्शनमा सहभागी थिए ।
यसअघि आजै मानव अधिकार तथा शान्ति समाजद्धारा आयोजित बिरोध प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरी समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित २६ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको थियो ।
संसद विघटनको बिरोधमा राजधानी काठमाण्डौ लगायत देशका बिभिन्न ठाउमा दिनहुँजसो प्रदर्शन भैरहेका छन् ।